काठमाडौं । गत महिना नेकपा एमाले त्यागेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमा फर्किएका छन्। संविधान सभा सदस्य समेत रहेका देवले आज विज्ञप्ति जारी गर्दै आफू औपचारिक रूपमा कांग्रेसमा फर्किएको घोषणा गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘गगन थापाको नेतृत्वको केन्द्रीय कार्य समिति प्रति पूर्ण प्रतिबद्ध तथा आस्थावान् रही आजैको मितिदेखि म सहित मलाई सहयोग र समर्थन गर्दै सधैँ साथ दिँदै आएको सम्पूर्ण साथीहरू नेपाली कांग्रेसमा फर्केको औपचारिक रूपमा सार्वजनिक घोषणा गर्दछु।’
विशेष राष्ट्रिय महाधिवेशनले पारित गरेको नवीन नीति र नयाँ अग्रगमनकारी सोचको नयाँ नेतृत्वले देशमा सामाजिक–राजनीतिक रूपान्तरणको अभियानलाई प्रभावकारी र निर्णायक ढङ्गले अघि बढाउने विश्वास व्यक्त गरेका छन्। उनले सभापति थापाको नेतृत्वमा पार्टीलाई बदल्ने कार्य सुरु गरे जस्तै देशलाई पनि बदल्ने जिकिर गरेका छन्। देवको ४० वर्षे लामो राजनीतिक जीवनमा कांग्रेससहित नेकपा मानन्धर, नेकपा एमाले, नेकपा माले, मधेशी जनअधिकार फोरम र लोकतान्त्रिक फोरममा समेत प्रवेश गरिसकेका छन्।
