पोखरा । कास्की–३ मा प्रतिनिधिसभा सदस्यका लागि सबैभन्दा कान्छा उम्मेदवारका रूपमा अर्जुन खनाल चुनावी प्रतिस्पर्धामा छन्। स्याङ्जाको वालिङ–४ मा जन्मिएका खनाल हाल पोखरा–६ मा बसोबास गर्दै आएका छन्।
खनाल पर्यटन व्यवसायमा आबद्ध छन्। उनले कास्की, मुस्ताङ र धादिङमा रिसोर्ट तथा होटल सञ्चालन गर्दै करिब दुई सय जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको बताएका छन्। निजी क्षेत्रको अनुभवलाई विकास र आर्थिक गतिविधिसँग जोडेर उनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
शिक्षातर्फ उनले अर्थशास्त्र र राजनीतिक शास्त्र अध्ययन गरेका छन् भने स्नातकोत्तर तहमा अध्ययनरत रहेको जनाइएको छ। द्वन्द्व व्यवस्थापन, कृषि तथा पशुपालनसम्बन्धी तालिम पनि उनले लिएका छन्।
उनले युरोप र एसियाका विभिन्न मुलुकसहित २७ देशको भ्रमण गरेको उल्लेख गरेका छन्। नेपालभित्र पनि तराई, पहाड र हिमालका विभिन्न क्षेत्रको अवलोकन गरेको उनको विवरणमा उल्लेख छ।
खनाल विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहँदै आएका छन्। नवज्योति युवा क्लब, स्याङ्जा–पोखरा सम्पर्क मञ्च, रोटर्याक्ट तथा रोटरी अभियान, रेडक्रस युवा समिति कास्की, कोभिडकालमा अक्सिजन बैंक पोखरा र मणिपाल कोभिड अस्पताल व्यवस्थापनमा उनको संलग्नता रहेको जनाइएको छ।
राजनीतिक रूपमा विद्यार्थी जीवनदेखि सक्रिय खनाल हाल राष्ट्रिय प्रजातन्त्र पार्टी का केन्द्रीय सदस्य तथा पर्यटन विभागमा आवद्ध छन्। यसअघि विवेकशील साझा पार्टी र अखण्ड नेपाल पार्टी मा समेत जिम्मेवारी सम्हालेको पृष्ठभूमि रहेको छ।
कास्की–३ मा उनको उम्मेदवारीलाई युवा प्रतिनिधित्व र व्यवसायिक पृष्ठभूमिसँग जोडेर हेरिएको छ। निर्वाचन परिणाम भने मतदाताको निर्णयबाट तय हुनेछ।
युवा उमेर, उद्यमशीलता, सामाजिक सञ्जाल र बहुआयामिक अनुभवसहित खनाल मतदातासामु उपस्थित भएका छन्। उनको उम्मेदवारीले कास्की-३ मा नयाँ पुस्ताको प्रतिनिधित्व, निजी क्षेत्रबाट राजनीतिमा प्रवेश र वैकल्पिक नेतृत्वको सम्भावनाबारे बहसलाई तीव्र बनाएको छ।