काठमाडौँ । भारतमा जारी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध १८५ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो।
इंग्ल्याण्डका ब्याट्सम्यानहरूले सुरुदेखि नै आक्रामक सुरुवात गर्ने प्रयास गरेका थिए। मध्य ओभरहरूमा नेपालको बलिङ आक्रमणले केही महत्वपूर्ण विकेट लिँदै रनगतिमा नियन्त्रण गर्ने कोसिस गर्यो, तर अन्तिम ओभरतिर इंग्ल्याण्डले पुनः गति लिँदै प्रतिस्पर्धात्मक योगफल तयार पार्न सफल भयो।
इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए। ज्याकोब बेथेलले ३५ बलमा ५५ रनको योगदान गर्दा जोस बटलरले १७ बलमा २६ रन जोडे। अन्त्यतिर विल ज्याक्स १८ बलमा ३९ रन बनाउँदै अविजित रहेपछि इंग्ल्याण्डले अन्तिम ओभरहरूमा रन गति बढाएको थियो। टम बार्टन र साम करन सस्तैमा आउट भए।
नेपालका तर्फबाट दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। सन्दीप लामिछाने र शेर मल्लाले १–१ विकेट हात पारे। करन केसी र कुशल भुर्तेल भने विकेट लिन सकेनन्। केही समयसम्म रन गति नियन्त्रणमा राखे पनि डेथ ओभरमा नेपाली बलरहरू दबाबमा परेपछि इंग्ल्याण्डले बलियो योगफल तयार गर्यो।
जितका लागि अब नेपालले २० ओभरमा १८५ रन बनाउनुपर्नेछ।
अब नेपाल केहीबेरमै जवाफी ब्याटिङका लागि मैदान उत्रिनेछ। पहिलो खेलमै बलियो टोलीविरुद्ध चुनौतीपूर्ण लक्ष्य पछ्याउनुपर्ने भएकाले नेपाली ब्याट्सम्यानहरूको प्रदर्शनतर्फ समर्थकहरूको विशेष नजर रहनेछ।