आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रामा बिराम लागेको छ । देउवा ०४८ यताका सबै संसदीय चुनावमा डडेलधुराबाट निर्वाचित हुँदै आएका थिए ।
उनी यस पटक पनि डडेलधुरा काँग्रेसबाट एकल उम्मेदवार सिफारिस भएका थिए । तर, यसबीचमा काठमाडौँमा भएको विशेष महाधिवेशनले देउवालाई सभापतिबाट हटाउँदै गगन थापालाई काँग्रेसको नेतृत्व दियो, जसका कारण उनी उम्मेदवारीबाट पछि हटेका हुन् । पाँच पटक प्रधानमन्त्री र सात पटक सांसद भएका देउवाको संसदीय यात्रामा बिराम लागेसँगै अब सुदूरपश्चिमको नेता को बन्ला भन्ने चर्चा सुरु भएको छ ।
यसका लागि राजनीतिक वृत्तमा विभिन्न दलका केही नेताहरू सम्भावित प्रभावशाली अनुहारका रूपमा अघि सारिएका छन् । अझ भन्ने हो भने देउवापछि धेरैले डा.भीम रावल,लेखराज भट्ट, एनपी साउद, डा. तारा प्रसाद जोशी लगायतलाई कतिपयले सुदूरपश्चिमको भावी नेताको रुपमा अघि बढाएका छन् ।
डा.भीम रावल
तीन दशक भन्दा बढी समय सुदूरपश्चिमको राजनीति र केन्द्रको सत्ता सञ्चालनमा निर्णायक भूमिका खेलेका देउवा पछि डा. भीम रावल पनि प्रभावशाली नेताका रुपमा चिनिँदै आएका मानिन्छन् । कुनै समय सुदूरपश्चिम नेकपा एमालेमा भीम रावलको दरिलो दबदबा थियो । केन्द्रीय उपाध्यक्ष र सुदूरपश्चिम इन्चार्ज रहँदा उनले जे भन्यो कार्यकर्ता स्तरसम्म अक्षरशः पालना हुन्थ्यो । त्यो बेला कतिपयले सुदूरपश्चिमको भूगोलबाट देशको राजनीतिमा नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापछि रावलले नै सर्वोच्च स्थान बनाउने नेताका रूपमा व्याख्या गर्थे । एमालेभित्र निरन्तरको उकालो चढानकै कारण त्यो व्याख्यामा असहमति जनाउने ठाउँ थिएन । सोही कारण सुदूरपश्चिमको भूगोलबाट एमालेमा प्रतिनिधित्व गर्ने नेता कार्यकर्ता रावलले जे भन्यो त्यही मान्नै पर्ने अवस्थामा थिए । ती रावल अहिले एमालेमा छैनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बनाउन नसकेका कारण २०७९ को प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ मा उनले टिकटसम्म पाउन सकेनन् । उनी पछिल्ला तीन वर्ष संसदीय शक्तिबाट बाहिर हुँदा भूमिकाविहीन बने । त्यसै क्रममा उनी पार्टीको कारबाहीमा परेर निष्काशित भए । अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा छन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेकपाले उनलाई अछाम–१ मा उम्मेदवार बनाएको छ ।
लेखराज भट्ट
सुदूरपश्चिमको राजनीतिक वृत्तमा लेखराज भट्ट परिचित नाम हो । नेपाल कम्युनिस्ट पार्टी एमालेका निर्वाचित केन्द्रीय उपमहासचिव भट्ट चार पटक नेपाल सरकारको मन्त्री भइसकेका छन् । कम्युनिस्ट आन्दोलन र माओवादी आन्दोलनबाट उदाएका पूर्व मन्त्री भट्ट शालीन, भद्र, सभ्य र इमानदार राजनीतिज्ञको रुपमा चिनिन्छन् । माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वमा महत्त्वपूर्ण भूमिकामा रहेका भट्ट विस्तृत शान्ति सम्झौता पश्चात् अन्तरिम संसद् हुँदै संविधानसभाको निर्वाचन २०६४ र प्रतिनिधिसभाको निर्वाचन २०७४ मा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । पटक पटक मन्त्री हुँदा वा लाभको पदमा रहँदा कुनै किसिमको भ्रष्टाचारको आरोप नलागेका नेताको छाप छोड्न सफल लेखराज क्रान्ति र आन्दोलनबाट खारिएर आएका नेताको रुपमा चिनिन्छन् । नेपाल कम्युनिस्ट पार्टी मसाल, नेकपा एकता केन्द्र हुँदै नेकपा माओवादीको केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्य समेत भइसकेका भट्ट नेकपा विभाजनपछि नेकपा एमालेतर्फ लागे । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सचिव पदमा निर्वाचित भएका भट्ट एघारौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय उप उप-महासचिव पदमा निर्वाचित भएका छन् ।
नेपालको संविधान २०७२ निर्माण हुँदा प्रदेशको सिमाङ्कनका विषयमा लेखराज भट्टले राखेका विचार र पार्टीमा लिएका अडानहरू समग्र सुदूरपश्चिम प्रदेशको विकास, सम्वृद्धि, सामाजिक सांस्कृतिक एकता र भौगोलिक अखण्डताको लागि महत्त्वपूर्ण र ऐतिहासिक छन् । त्यस बखत उनले प्रस्तुत गरेका विचार र तर्कहरू सुदूरपश्चिमको भविष्यका आधार स्तम्भ हुन् । पार्टी नीति भन्दामाथि उठेर विभिन्न जोखिम मोल्दै सुदूरपश्चिमको विकासका लागि उठान गरिएका मुद्दाहरू वास्तवमै महत्त्वपूर्ण छन् । उनै भट्टलाई नेकपा एमालेले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ मा उम्मेदवार बनाएको छ ।
एनपी साउँद
साउँद काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका विश्वास पात्रसमेत मानिन्छन्। देउवाकै गृह जिल्ला डडेल्धुरामा विसं २०१९ साल श्रावण २५ गते बिहीबार जन्मेका साउद हाल कञ्चनपुरका स्थायी बासिन्दा हुन्। त्रिभुवन विश्वविद्यालयबाट मानव शास्त्र र समाजशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका साउदले सन् १९८० देखि काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिको सुरुवात गरेका हुन्। नेविसंघको क्याम्पस सचिव, केन्द्रीय सदस्य रहँदै साउद नेविसंघको केन्द्रीय सभापतिसमेत भइसकेका छन्। सन् १९९४ मा पहिलो पटक संसदीय यात्रा सुरु गरेका साउद संसद्को सार्वजनिक लेखा समिति सदस्य रहँदै संसद्का विभिन्न समितिहरूमा रहिसकेका छन्। केही मन्त्री पदमा बसेर पनि काम गरिसकेका छन् । साउँद फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् ।
डा. तारा प्रसाद जोशी
२०२७ चैत्र २७ डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका बामनगाउँमा बुवा भवानी दत्त जोशी र आमा हरिनादेवी जोशीको ज्येष्ठ सन्तानका रूपमा जोशीको जन्म भएको हो। सानै देखि राजनीतिमा चासो राखने जोशीले विद्यार्थी राजनीति आफ्नो जीवनमा राजनीतिको सुरुवात गरेका थिए । २०४३ सालमा भुवनेश्वरी माध्यमिक विद्यालयबाट एसएलसी गरेका उनले कैलाली बहुमुखी क्याम्पसबाट आईकम गरेका हुन् । सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट बिए पास गरेका उनले एमए भने भारतको कुमाऊँ विश्व विद्यालय नैनीतालबाट गरेका हुन्। भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालयबमट एम फिल र विद्या बारिधि पिएचडी अन्तर्राष्ट्रिय सम्बन्धमा २०६८ सालमा गरेका हुन्। जोशीको राजनीतिक यात्रा २०४५ सालमा कैलाली बहुमुखी क्यापसको अनेरास्ववियु प्रवेशसँगै भएको थियो। २०४६ सालमा पञ्चायती शासनकाविरुद्ध आन्दोलन चल्दै गर्दा कैलाली बहुमुखी क्याम्पसमा उनले विद्यार्थीसँगै निरंकुशताको विरुद्ध आन्दोलन गरे। जोशीले २०४७ सालमा आफ्नै गाउँको गणेश मावि बडालमा शिक्षकको रूपमा काम गरे।
२०४७ तिरै जोशीले बिरभद्र माध्यमिक विद्यालय हालको नवदुर्गा गाउँपालिका कोटेलीमा शिक्षण पेशा गरे। आलितालको दुर्गा माविमा समेत शिक्षण पेशामा केही समय बिताए।उनले त्यही समयमा सङ्गठनको कामसँगै भुवनेश्वरी मावि बड बसन्तपुरमा शिक्षण पेशामा ४ वर्ष माध्यमिक तहमा अङ्ग्रेजी विषयको कुशल शिक्षकको जिम्मेवारी सम्हाले।२०५१ देखि २०५३ सम्म डडेल्धुरा काठमाडौँ सम्पर्क मञ्चको सदस्य हुँदै काठमाण्डौं केन्द्रित राजनीति गरे। २०५३ सालमा डडेल्धुरा आउँदै गर्दा नेकपा एमालेले उनलाई जिल्ला कमिटी सदस्यमा जिम्मेवारी दियो।एक वर्षे जिल्ला कमिटी चलाउँदै गर्दा २०५४ मा उनले नेकपा एमालेको जिल्ला सचिवको रूपमा २०५८ सम्म पार्टीको जिम्मेवारी सम्हाले २०५९ साल देखि २०६३ सम्म जिल्ला कमिटी सदस्यको रूपमा काम गरे २०६३ को आन्दोलन चल्दै गर्दा पूर्व तत्कालीन राजा ज्ञानेन्द्र शाहले नगरपालिकाको चुनाव घोषणा गरे।त्यसकाविरुद्ध आन्दोलनमा उत्रिएका डडेल्धुराका राजनीतिक कर्मीलाई पुलिसले गिरफ्तार गर्यो। जोशी २५ दिनका लागि जेल चलान भए। अन्तिममा आएर राजा ज्ञानेन्द्रले नगरपालिकाको नौटंकी चुनाव स्थगित गरे।०६२/०६३ को आन्दोलनको बेला तारा जोशीलाई पुनः प्रहरीले गिरफ्तार गरे।
२६ दिनको राजतन्त्रका विरुद्ध आन्दोलन गरेको आरोपमा कारागार चलान गर्यो। आन्दोलन चल्दै गर्दा देशमा लोकतन्त्र आएपछि जोशीलाई कारागारबाट मुक्त गरियो। उनी २०६९ मा नेकपा एमाले डडेल्धुराको जिल्ला अध्यक्षमा सर्वसम्मत चुनिए। २०७० सालको संविधान सभा चुनावमा होमिएका उनी पराजित भए। २०७१ मा पुनः एमाले जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए। उनले उपक्षेत्रीय आन्दोलनको नेतृत्व गरेका थिए भने राष्ट्रिय परीक्षा बोर्ड डडेल्धुराको एकलौटी भर्ती विरुद्धको आन्दोलनमा समेत होमिएका थिए। जोशी २०७९ को प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरा प्रदेश ख' बाट स्वतन्त्र उमेदवारी दिएका थिए। उनले चुनाव चिन्ह लालटिन पाए र चुनाव जिते । अहिले प्रदेश सभाबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार बनेका छन् ।
देउवाको सक्रिय संसदीय उपस्थितिमा विराम लागेसँगै सुदूरपश्चिमको नेतृत्व कसले सम्हाल्ने भन्ने स्पष्ट फागुन २१ पछि तय हुनेछ । विभिन्न दलका यी नेताहरू आ–आफ्नो प्रभाव, सङ्गठन र जनसमर्थनका आधारमा सम्भावित उत्तराधिकारीका रूपमा हेरिँदै आएका छन् ।