झापा । युवा संघ नेपालका शीर्ष पदाधिकारीहरू केपी शर्मा ओलीको निर्वाचन क्षेत्र केन्द्रित चुनावी अभियानका लागि झापा जिल्ला पुगेका छन्।
संघका अध्यक्ष महाराज गुरुङ, महासचिव महेश चौलागाईँ, उपमहासचिव उपेन्द्र शाहीसहितका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सक्रिय हुने कार्यक्रम रहेको जनाइएको छ।
अध्यक्ष गुरुङका अनुसार निर्वाचन अभियानलाई शान्तिपूर्ण, व्यवस्थित र सौहार्दपूर्ण बनाउने उद्देश्यले केन्द्रीय टोली परिचालित गरिएको हो। उनले युवाहरूलाई लोकतान्त्रिक अभ्यासमा जिम्मेवार ढंगले सहभागी गराउँदै मतदातामाझ सकारात्मक सन्देश प्रवाह गरिने बताए।
महासचिव चौलागाईँले मतदातामा फैलिएका विभिन्न आशंका र भ्रमलाई तथ्यका आधारमा स्पष्ट पार्नु अहिलेको प्राथमिकता भएको उल्लेख गरे। घरदैलो, भेटघाट, छलफल तथा अन्तरक्रियामार्फत पार्टीको धारणा र उम्मेदवारका एजेन्डा मतदातासम्म पुर्याइने उनको भनाइ छ।
युवा संघको केन्द्रीय नेतृत्व नै मैदानमा उत्रिएपछि निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी गतिविधि थप सघन र संगठित हुने अपेक्षा गरिएको छ। स्थानीय तहसम्म युवापंक्तिलाई सक्रिय बनाउँदै अभियानलाई प्रभावकारी बनाउने तयारी रहेको संघले जनाएको छ।