धनगढी । बैतडीमा १३ जनाको मृत्यु भएको दुर्घटनामा मृतक परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ।
शुक्रबार सुदूरपश्चिम मन्त्रिपरिषदको बैठकले मृतक परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको हो। बैठकले घाइतेको सरकारी अस्पतालमा निस्शुल्क उपचार गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए।
बैतडीमा बिहीबार राती पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर घर तर्फ फर्किने क्रममा सु. प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा १३ जनाको मृत्यु भएको भने ३४ जनाको बिभिन्न अस्पतालमाउपचार भइरहेको छ।
दुर्घटना लगत्तै फरार चालक कञ्चनपुरको भिमदत्त नगरपालिका–७ हल्दुखालका ४२ वर्षीय वीरेन्द्र बुढालाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको थियो।