काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी प्रचारमा रहेको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाको छानबिनमा सहयोग गर्ने बताएको छ ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्तिमार्फत घटनाको छानबिनका लागि स्थानीय प्रशासनलाई सहयोग गर्न प्रतिबद्ध रहेको जानकारी दिएका हुन् ।
‘घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौं । कानूनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन । साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौं,’ जारी विज्ञप्तिमा भनिएको छ । रौतहटमा रास्वपा उम्मेदवारको स्टिकर टाँसिएको गाडीको ठक्करबाट बिहीबार ४ वर्षीया बालिकाको मृत्यु भएको थियो ।
