धरान । धरान उपमहानगरपालिकाका पूर्व प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)विरुद्ध चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको आरोप लगाइएको छ ।
धरान नगर बाल सञ्जालले आइतबार उनीविरुद्ध उजुरी दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालय र धरान प्रहरीमा साम्पाङमाथि कारबाहीको मागसहित उजुरी दर्ता गराइएको हो । आउँदो फागुन २१ गते हुने निर्वाचनलक्षित प्रचारका क्रममा प्रत्यक्ष रूपमा बालबालिकाको प्रयोग गरिएको सञ्जालको आरोप छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उनी सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धामा छन्।
नगर बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा झिकाई आवश्यक छलफल, छानबिन गरी आचारसंहिता तथा कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । यता निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै साम्पाङलाई स्पष्टीकरण सोधेको छ। बालबालिकालाई राजनीतिक गतिविधि र प्रचारप्रसारमा प्रयोग गरेको उजुरी परेपछि आयोगले उनलाई सचेत गराउँदै जवाफ मागेको छ।