काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिन कांग्रेसको शेरबहादुर देउवा पक्ष सहमत भएको छ। तर हालसम्म रिट औपचारिक रूपमा फिर्ता भइसकेको छैन।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटको प्रारम्भिक सुनुवाइ मंगलबारका लागि तोकिएको छ।
निर्वाचन आयोगको निर्णय संविधान र प्रचलित कानुन विपरीत भएको दाबी गर्दै देउवा पक्षले कानुनी उपचारका साथै राजनीतिक प्रतिवाद गर्ने चेतावनी दिएको थियो। सोही क्रममा खड्काले नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ठहर गर्दै अदालतको ढोका ढकढक्याएका थिए।
तर, आफूले नै दायर गरेको रिटको विषयवस्तु र त्यसबाट सिर्जित राजनीतिक तथा नैतिक प्रश्नलाई मध्यनजर गर्दै मंगलबार पेसीमा चढ्नुअघि रिट फिर्ता लिने सहमति बनेको स्रोतले जनाएको छ।
रिट फिर्ता लिने औपचारिक प्रक्रिया भने अदालती कार्यसूचीअनुसार अघि बढाइने बताइएको छ।