बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न लुम्बिनी प्रदेश सभाका तीन जना सदस्यले पदबाट राजीनामा दिएका छन्।
प्रदेश सभा सचिवालयका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दाङ निवासी धनबहादुर मास्की, उज्यालो नेपाल पार्टीका बर्दिया निवासी धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद कन्हैया बानियाँले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका हुन्।
लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले तीनै जनाको राजीनामा आइतबार नै सचिवालयमा प्राप्त भइसकेको जानकारी दिए। सचिवालयले मनोनयन दर्ताको समयअघि नै सूचना टाँस गरी औपचारिक जानकारी दिने तयारी गरेको जनाएको छ।
धर्मबहादुर चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया क्षेत्र नम्बर २ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चर्किएपछि उनले पार्टी छोड्दै कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए। हाल उनी उक्त पार्टीका महासचिवसमेत हुन्। चौधरी बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न लागेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्। उनले २०७९ सालको निर्वाचनमा दाङ ३ (२) बाट एमालेका हुकुमबहादुर बस्नेतलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। मास्की त्यसपछि लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीसमेत बनेका थिए।
त्यस्तै, रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचन लड्न कन्हैया बानियाँले पनि प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका छन्। बानियाँ २०७९ सालको निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट रुपन्देही ४ (१) मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनी यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन्।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रदेश सभा सदस्यहरूको राजीनामासँगै लुम्बिनी प्रदेशको राजनीतिक गतिविधि थप सक्रिय बन्दै गएको छ।