काठमाडौँ । विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका विद्यार्थीहरूलाई सही जानकारी र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले एबि अप्लाईले काठमाडौँमा शैक्षिक मेला सम्पन्न गरेको छ। वैदेशिक अध्ययनका विषयमा प्रारम्भिक चरणमै पर्याप्त परामर्श नपाउँदा विद्यार्थीहरू अन्योलमा पर्ने अवस्थालाई मध्यनजर गर्दै ‘एजुकेशन फेयर’ आयोजना गरिएको एबि अप्लाईका मार्केटिङ कोर्डिनेटर नारायण केसीले जानकारी दिए।

उनका अनुसार मेलामा विशेषगरी अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा र न्यूजिल्यान्डलाई अध्ययन गन्तव्य बनाउन चाहने विद्यार्थीहरूलाई लक्षित गरिएको थियो। सो अवसरमा ती देशका १९ वटा प्रतिष्ठित कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूले प्रत्यक्ष रूपमा सहभागी भई विद्यार्थीहरूलाई परामर्श प्रदान गरेका थिए।

शैक्षिक मेलामा सहभागी विद्यार्थीहरूले अन्तर्राष्ट्रिय विश्वविद्यालय र कलेजका कोर्स, शुल्क संरचना, भर्ना प्रक्रिया तथा अध्ययनका अवसरबारे विस्तृत जानकारी पाएको प्रतिक्रिया दिएका छन्। केवल भर्ना प्रक्रियामा सीमित नरही विदेश पुगिसकेपछि अपनाउनुपर्ने व्यवहारिक पक्ष, बसोबास, अध्ययनका चुनौती तथा जीवनशैलीबारे यथार्थ जानकारी दिनु आयोजकको मुख्य उद्देश्य रहेको केसीले बताए।

शैक्षिक मेलाको उद्घाटन नेपाल शैक्षिक परामर्श सङ्घका पूर्व अध्यक्ष प्रकाश पाण्डेले गरेका थिए। मेलामा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। परामर्श सेवाका अतिरिक्त सहभागी विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप गिफ्ट ह्याम्पर, सिनेमा टिकट तथा फुड भौचरसमेत प्रदान गरिएको थियो। आयोजकका अनुसार यस्ता शैक्षिक मेलाले विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थीहरूलाई सही निर्णय लिन सहयोग पुग्ने विश्वास लिइएको छ।
