काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा अध्ययनका नाममा ठगिएका नेपाली विद्यार्थीले शिक्षा मन्त्रालयमा पुनः उजुरी दिएका छन् ।
यूएईमा अध्ययनका नाममा ठगिएका ३२ जना नेपाली विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुनः उजुरी दर्ता गराएको अभियानका संयोजक विश्वजीत कुमार यादवले बताए । यसअघि पनि उजुरी दिँदा समेत ठोस पहल नभएको भन्दै उनीहरूले फेरि ध्यानाकर्षण गराएका हुन्। मन्त्रालयले एक हप्ता भित्र अनुसन्धानको लागि ठोस कदम चाल्ने वाचा गरेको बुझिएको छ ।
पीडित विद्यार्थीहरूका अनुसार उनीहरूलाई नेपालस्थित शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) ले यूएईका ११ वटा कलेज तथा विश्वविद्यालयमा भर्ना गराएको थियो। ती कलेज–विश्वविद्यालय यूएई सरकारबाट मान्यता नपाएका, आवश्यक शैक्षिक पूर्वाधार नभएका र कतिपय अनलाइन मात्र सञ्चालन हुने रहेको उनीहरूको दाबी छ।
विद्यार्थीलाई भ्रमित गर्ने शिक्षा परामर्शदाता सञ्चालकहरूलाई तत्काल पक्राउ गर्न र अनधिकृत संस्थाहरूलाई नो अब्जेक्सन सर्टिफिकेट दिने निर्णय गर्ने सरकारी अधिकारीहरूमाथि कारबाही गर्न माग गरेका छन्।
उनीहरूले प्रभावित विद्यार्थीहरूलाई क्षतिपूर्ति र युएई सरकारसँगको समन्वयमा युएईमा आधारित संस्था विरुद्ध कारबाहीको माग पनि गरेका छन्।