काठमाडौँ । नेकपा एमाले ले आगामी ११औँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा कम्तीमा २५ जना ४० वर्षमुनिका युवा समेट्ने तयारी गरेको छ। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि स्वतः युवा प्रतिनिधिहरू केन्द्रीय कमिटीमा जाने भएका छन् । तर संख्या अहिलेसम्म अन्तिम रूपले तय भइसकेको छैन।
एमालेले प्रदेशदेखि वडा र सेल कमिटीसम्म युवा प्रतिनिधित्व सुनिश्चित गरेको छ। प्रदेश कमिटीमा १० प्रतिशत, जिल्ला–पालिका कमिटीमा १५–२० प्रतिशत, वडा–कमिटीमा २५ प्रतिशत र सेल कमिटीमा एक तिहाइ युवाको प्रतिनिधित्व छ। वर्तमानमा भूगोलअन्तर्गत १६५ निर्वाचन क्षेत्रबाट एक–एक जना युवा प्रतिनिधि चयन भइसकेका छन्। अनेरास्ववियु, राष्ट्रिय युवा संघ र नेशनल भोलेन्टियर फोर्स जस्ता संगठनबाट पनि युवाहरूको सहभागिता हुने छ । हाल करिब दुई सय जना युवा महाधिवेशन प्रतिनिधिका रूपमा चुनिएका छन्। महाधिवेशनले केन्द्रीय कमिटीको आकार ३५५ सदस्यबाट घटाएर २५१ सदस्यीय बनाउने निर्णय गरेको छ। पदाधिकारीको संख्या पनि १९ बाट १५ मा झारिएको छ।