काठमाडौँ । डिजिटल प्रविधिमा निर्भरता बढ्दै जाँदा स्मार्टफोन प्रयोगसँग जोडिएका स्वास्थ्य जोखिमलाई लिएर विश्वभरका वैज्ञानिक अध्ययनहरू निरन्तर सतर्क गराइरहेका छन्। विशेषगरी बिहान उठ्नेबित्तिकै मोबाइल हेर्नेदेखि दिनभर अत्यधिक स्क्रोलिङ गर्ने बानीसम्म, यी सबै क्रियाकलापले शारीरिक, मानसिक र न्युरोलोजिकल स्वास्थ्यमा गम्भीर प्रभाव पार्दै आएको अनुसन्धानहरूले देखाएका छन्।
आँखा र मस्तिष्कमा प्रत्यक्ष प्रभावः अमेरिकन एकेडेमी अफ अप्थाल्मोलोजीका अनुसार लगातार स्क्रिन हेर्दा डिजिटल आइ स्ट्रेन Digital Eye Strain देखिनु सबैभन्दा सामान्य समस्या हो। यसले आँखामा जलन, टपकन, धूमिल दृष्टि र टाउको दुखाइजस्ता लक्षण उत्पन्न गर्छ। स्क्रिनबाट निस्कने ब्लू–लाइट Blue Light ले राति शरीरमा सुताइ नियमन गर्ने मेलाटोनिन हर्मोनलाई अवरुद्ध गर्छ। अनुसन्धानले देखाएको छ कि बिहानै ब्लू–लाइटको प्रभावले शरीरको प्राकृतिक झड्का–घडी Circadian Rhythm असन्तुलित हुने र दिनभर थकान तथा ध्यान केन्द्रित गर्ने क्षमता घट्ने समस्या देखापर्छ।
मानसिक स्वास्थ्यमा बढ्दो दबाबः हार्वर्ड मेडिकल स्कूलका शोधकर्ताहरूका अनुसार अत्यधिक मोबाइल प्रयोगले डोपामिन प्रणालीमा असर पार्छ, जसले व्यक्ति निरन्तर सूचना, नोटिफिकेसन र सामाजिक मान्यताको खोजीमा अल्झिरहने प्रवृत्ति बढाउँछ। यसलाई Reward-seeking loop भनेर चिनिन्छ, जसले तनाव, चिन्ता, चिडचिडापन र तुलना–मनोविज्ञानलाई अझ उकास्ने अनुसन्धानहरूले पुष्टि गरेका छन्। बिहान उठ्नेबित्तिकै फोन हेर्ने बानीले मस्तिष्कलाई एकैचोटि धेरै सूचनाले भरिदिन्छ, जसलाई विशेषज्ञहरूले information overload भनेका छन्। यसले दिनको सुरुवाती घडीमै अनावश्यक मानसिक दबाब सिर्जना गर्छ।
घाँटी, काँध र मेरुदण्डमा शारीरिक समस्याः विश्व स्वास्थ्य संगठन WHO ले लामो समय झुकिएको अवस्थामा फोन चलाउँदा पैदा हुने स्थिति–टेक्स्ट–नेक सिन्ड्रोम–लाई विश्वभर बढ्दो चिन्ताको विषय बताएको छ। मानिसले फोन हेर्दा औसत ३०–४५ डिग्रीसम्म घाँटी झुकाउने गरेको मापनमा भेटिन्छ, जसले घाँटी, काँध र मेरुदण्डमा दीर्घकालीन चोट तथा स्नायु दबाब nerve compression को जोखिम बढाउँछ। बच्चा र किशोरमा लगातार मोबाइल प्रयोग हुनुले हड्डी र मांसपेशीको प्राकृतिक विकासमा पनि बाधा पुग्ने अध्ययन भएको छ ।
निन्द्रा चक्रमा गम्भीर अवरोधः नेशनल स्लीप फाउन्डेसनका अनुसार सुत्नुअघि ३० मिनेटदेखि १ घण्टा मोबाइल प्रयोग गरेमा मेलाटोनिन स्तर ५० देखी ६०% सम्म घट्न सक्छ। गहिरो निद्रा घटाउने,राति पटक–पटक बिउँझिने,बिहान थकान,दीर्घकालीन अनिद्रा जस्ता प्रभाव ल्याउँछ। बिहान उठ्नेबित्तिकै मोबाइल स्क्रिन हेर्दा शरीरको कार्टिसोल stress hormone स्तर एक्कासि बढ्ने, जसले दिनभर तनावको सम्भावना बढाउने वैज्ञानिकहरूले बताएका छन्।
ध्यान क्षमता र उत्पादकत्वमा असरः स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता डा.क्लिफोर्ड नासले स्मार्टफोन सुरु–सुरुमै हेर्ने बानीलाई Attention hijacking अर्थात् ध्यान चोर्ने व्यवहार भनेका छन्। काममा ध्यान नजोडिने,पढाइ र स्मरणशक्ति घट्ने,दिनभर कार्यक्षमता कमजोर हुने जस्ता नतिजा ल्याउने पत्ता लागेको छ।
विज्ञहरूको सुझाव यस्तो छ स्वास्थ्य विशेषज्ञहरूका अनुसार मोबाइल पूर्ण रूपमा छोड्नु सम्भव नभए पनि यसको प्रयोगलाई सन्तुलित बनाउनु अत्यावश्यक छ। उनीहरूले सुझाव दिएका प्रमुख कुराहरु बिहान उठेको ३० मिनेट फोन नखोल्ने, ब्लू–लाइट फिल्टर वा नाइट–मोड सक्रिय गर्ने,हरेक २० मिनेटमा २० सेकेन्ड टाढा हेर्ने, झुकिएको अवस्था कम गर्न मोबाइल आँखा–उचाइमा राख्ने,अनावश्यक नोटिफिकेसन बन्द गर्ने,सुत्नेबेलामा फोन बेडबाट टाढा राख्ने,बिहान हल्का व्यायाम वा ध्यान गरेर मात्र डिजिटल गतिविधि सुरु गर्ने विशेषज्ञहरूको निष्कर्ष छ मोबाइल उपयोग आधुनिक जीवनको आवश्यकता जस्तै बनिसकेको छ। तर यसले शरीर र दिमागमा पार्ने असरलाई कम गर्न डिजिटल अनुशासन अपनाउनु आजको प्रमुख आवश्यकता हो।