काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका नेताहरूसँग आइतबार बिहान बालुवाटारमा विस्तृत राजनीतिक परामर्श गरेकी छन्। करिब दुई घन्टा चलेको भेटवार्तामा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा चुनाव समयमै र निष्पक्ष ढंगले सम्पन्न गर्ने विषय मुख्य एजेन्डाका रूपमा उठेको सहभागीहरूले बताए।
बालुवाटारमा भएको भेटमा कांग्रेसका नेता देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाई, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा र सन्दीप निरौला सहभागी थिए। प्रधानमन्त्री कार्कीले निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूको सहकार्य, आपसी विश्वास र समन्वय अपरिहार्य भएको भन्दै राजनीतिक दलका नेताहरूसँग क्रमिक संवाद भइरहेको उल्लेख गरिन्।
चुनाव समयमै गराउने सरकारको प्रतिबद्धता छ । छलफलमा सहभागी नेता गुरूराज घिमिरेका अनुसार प्रधानमन्त्री कार्कीले फागुन २१ गते नै प्रतिनिधि सभा चुनाव गराउने सरकारको दृढ प्रतिबद्धता व्यक्त गर्दै यसको तयारीका लागि आवश्यक वातावरण निर्माण गरिने बताइन्। उनका अनुसार, “प्रधानमन्त्रीज्यूले राजनीतिक स्थिरता र लोकतान्त्रिक प्रक्रियाको निरन्तरता सुनिश्चित गर्न चुनावमा कुनै प्रकारको ढिलाइ नहुने स्पष्ट पार्नुभयो। हामीले पनि निर्वाचन तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिएका छौँ।”
घिमिरेले सबै नेताले व्यक्तिगत रूपमा पनि आफ्नो धारणा राख्दै चुनावमार्फत जनताको मतको सम्मान गरिने वातावरण सुनिश्चित गर्न सरकार र राजनीतिक दलहरूले संयुक्त रूपमा अघि बढ्नुपर्ने विषय उठाएको बताए। छलफलमा सहभागी अर्का नेता राजेन्द्र बजगाईले प्रधानमन्त्रीसँगको भेटमा कांग्रेसले पनि समयमै चुनाव गर्नुपर्ने माग स्पष्ट रूपमा राखेको बताए।
सरकारले निर्वाचन आयोगसँग समेत नजिकबाट समन्वय गर्दै तयारीलाई तीव्रता दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले सबै दलले समान अवसर पाउने, निष्पक्ष प्रतिस्पर्धा हुने र मतदातामा विश्वास जगाउने वातावरण बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी छन्। छलफलको निष्कर्ष सहकार्य र समयपालनामा जोड दिएको छ । आइतबारको भेटवार्ताले आगामी चुनावबारे राजनीतिक दलहरूबीच विश्वास र सहकार्यलाई अझ मजबुत बनाएको सहभागीहरूको भनाइ छ।
छलफलकै क्रममा कांग्रेस नेताहरूले निर्वाचन सुरक्षादेखि व्यवस्थापन, राजनीतिक संयमता र आचारसंहिताको प्रभावकारी कार्यान्वयनबारे पनि सुझाव दिएका थिए। प्रधानमन्त्री कार्कीले उठाइएका सबै विषयलाई सकारात्मक रूपमा लिँदै चुनावलाई सफा, पारदर्शी र विश्वसनीय बनाउने वातावरण निर्माण सरकारको पहिलो प्राथमिकता रहने धारणा व्यक्त गरेकी थिइन्।