काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक तर्फको मनोनयन प्रक्रिया मंसिर २१ गतेदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले कात्तिक ३० गते बसेको बैठकपछि प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका विस्तृत कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको छ ।
आयोगले प्रकाशित गरेको तालिकाअनुसार समानुपातिक निर्वाचनमा सहभागी राजनीतिक दलले मंसिर २१, २२ र २३ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन निवेदन दर्ता गराउनुपर्नेछ । दर्ता भएका दलको प्रारम्भिक नामावली मंसिर २४ गते सार्वजनिक गरिने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
उम्मेदवारको बन्दसूची भने दलहरूले पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पेश गर्नुपर्नेछ । आयोगले दर्ता र छानबिन प्रक्रिया पूरा गरी माघ २० गते बिहान १० देखि साँझ ५ बजेसम्म समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गर्नेछ ।
कार्यतालिका सार्वजनिकसँगै राजनीतिक दलहरू आन्तरिक रूपमा उम्मेदवार छनोट, प्रदेशगत प्रतिनिधित्व, समावेशिता तथा कानूनी बन्देजअनुसार बन्दसूची तयार पार्न सक्रिय हुने अनुमान गरिएको छ ।प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यक्रम स्वीकृत गरिएको छ ।


