काठमाडौँ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरु गरेसँगै निर्वाचन कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या घटेको छ । मतदाता नामावलीका निर्वाचन कार्यालयमा चाप बढेपछि निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलनको व्यवस्था गरेको थियो ।
त्यसपछि कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या कम भएको काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईले जानकारी दिए । उनले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरु गरेपछि नयाँ मतदाताको संख्या वृद्धि हुन थालेको बताए ।
निर्वाचन घोषणा भइसकेपछि मुलुकभर २ लाख ८५ हजार भन्दा बढिले निर्वाचन कार्यालय पुगेर मतदाता नामावली दर्ता गरिसकेको उनले जानकारी दिए । त्यस्तै राष्ट्रिय परिचयपत्र प्रयोग गरेर तीन दिनको अवधिमा दुई लाख भन्दा बढिले नाम दर्ता गराएको उनले बताए । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर आयोगले मतदाता नामावली र अद्यावधिक कार्य सञ्चालन गरेको हो । निर्वाचन आयोगले यसअघि कार्तिक ३० गतेसम्म नाम दर्ता गराउन सकिने व्यवस्था गरेकोमा पाँच दिन समय बढाउँदै आगामी मङ्सिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।