काठमाडौं । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेशका जनतालाई धोका दिएको आरोप लगाएका छन् ।
सोनलले आज समाजिक सञ्जाल फेसबुकमार्फत सुटुक्क एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकोप्रति आक्रोश व्यक्त गर्दै मधेशका जनतामाथि धोका भएको उल्लेख गरेका हुन् ।
उनले स्वास्थ्य उपचारको नाममा मधेशबाट निस्किएकी प्रदेश प्रमुखले सिन्धुली र महोत्तरीको सीमास्थित एक होटलमा बसेर मधेशको अस्मितालाई समाप्त पार्ने खेल खेलेको बताएका छन् ।
उनले लेखेका छन्– ‘मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ्य उपचारको नाममा निस्केकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन्।’