काठमाडौँ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बनाउन निर्वाचन आयोगले सम्पूर्ण कार्यतालिका स्वीकृत गरेको छ । आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्य मंसिर १ गतेदेखि १० गतेसम्म रहनेछ, पुस १८ र १९ गते बन्दसूची बुझाउनुपर्ने समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउनुपर्नेछ ।
निर्वाचन हुने क्षेत्रमा माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र फागुन २ देखि १८ गतेसम्म प्रचारप्रसारका गतिविधि सञ्चालन गर्न पाउने कार्यतालिका स्वीकृत भएको आयोगले जनाएको छ ।
मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने बताइएको छ । निर्वाचन प्रयोजनका लागि मतदाता नामावली संकलन, मतदाता शिक्षा, सुरक्षा व्यवस्था र मतदान केन्द्र तयारीका काम सुरु भइसकेको आयोगले जनाएको छ ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा राजनीतिक दलहरूलाई निर्धारित समयभित्र दल दर्ता र उम्मेदवार सिफारिस सम्बन्धी कानूनी प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ ।
प्रवक्ता भट्टराईका अनुसार निर्वाचनमा सहभागी राजनीतिक दल र सरोकारवालाहरूको सहकार्यका साथ आयोगले निर्धारित कार्यतालिका अनुसार सम्पूर्ण तयारी अघि बढाउने जनाइएको छ ।
