काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
भेटमा फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाकाबारेमा पनि छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। सरकारले अध्यादेशमार्फत निर्वाचन कानुनसम्बन्धी जटिलता फुकाउने तयारी अघि बढाएको छ।
सरकारले मतदाता नामावली दर्ता खुल्ला गराउने, विदेशमा रहेका नेपालीहरूलाई मताधिकार, दल दर्ता सम्बन्धीलगायत कानुनहरू अध्यादेशमार्फत ल्याउने तयारी अघि बढाएको हो। निर्वाचन मिति तोकिसकेपछि कानुनमा नयाँ मतदाताको नाम समावेश गर्न नपाइने प्रावधान छ।
मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) मा निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने उल्लेख छ। उक्त प्रावधान सच्याउन अध्यादेश ल्याउन लागिएको हो।