काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको कडा आलोचना गरेका छन् । उनले यो कदम आलोचना दबाउने उद्देश्यले लिइएको आरोप लगाएका छन् ।
फेसबुकमार्फत आफ्नो विचार व्यक्त गर्दै प्रचण्डले भनेका छन्, ‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएका आलोचनालाई दबाउन निरन्तर मुद्दा चलाउँदै आएको छ । आफ्ना कार्य र जिम्मेवारीबाट बच्न तथा अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण गर्न खोज्ने प्रयासमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरिएको हो । यो संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन हो ।’
प्रचण्डले सामाजिक सञ्जाल बन्द निर्णयले अर्थतन्त्रमा पनि प्रतिकूल प्रभाव पार्ने बताएका छन् । उनले भने, ‘देशका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीच सञ्चार र सम्पर्कलाई यस निर्णयले जटिल र असहज बनाएको छ । संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता सुनिश्चित गरी अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम हो ।’
सरकारलाई निर्णय फिर्ता लिन आग्रह गर्दै प्रचण्डले जोड दिएका छन्, ‘म संविधानले प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउँदै, यस निर्णय तत्काल खारेज गर्न माग गर्दछु ।’