विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)को संगठित सदस्य र कार्यकर्ता नै रहेको बताएकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू नेकपा एमालेको नीति र कार्यक्रम अनुसार नै अघि बढ्ने बताइन् ।
आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गर्दै उनले पार्टीको हितका लागि काम गर्ने बताइन् । उनले भनिन्,‘म नेकपा एमाले नै हो। म एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो। म नेकपा एमालेको कार्यकर्ता हो।’
पूर्वराष्ट्रपति भण्डारीले राजतन्त्र र गणतन्त्रबीचको भिन्नता केलाउँदै राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने धारणा राखिन्। पार्टीभित्र उनको भूमिका र केन्द्रीय कमिटीको निर्णयबारे सोधिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नभएको बताइन्।
आफ्नो आलोचना र व्यक्तिगत आरोपहरूका बारेमा बोल्दै भण्डारीले आफू आलोचनाभन्दा मुक्त नरहेको र कोही पनि आलोचनाभन्दा मुक्त नहुने बताइन्। ‘म पनि आलोचनाभन्दा मुक्त छैन र कोही पनि छैन,’ उनले भनिन्। गुट चलाएको आरोप लागेकोबारे सञ्चारकर्मीले प्रश्न गर्दा उनले प्रतिवाद गरिन्।‘मलाई गुट चलाउन आउँदै आउँदैन‘ उनले भनिन्। मदन भण्डारी फाउन्डेसनबारे उठेका प्रश्नहरूको जवाफमा भने उनले ‘पार्टीका नेताहरूलाई सोध्नु आग्रह गरिन्।