काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहलगायतको कुनै पनि विधेयक सदनमा पेस नहुने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधिसभाको बैठकका क्रममा आकस्मिक र शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिन मंगलबार समामुख देवराज घिमिरेसँग समय मागेका कानूनमन्त्री चौरसियाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहलगायतको कुनै पनि विधेयक यस सम्मानित सदनमा पेस नहुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भने ।
मन्त्री चौरसियाले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुमानको आधारमा विभिन्न ब्याख्या गरिनाले आम मानिसको बुझाइमा अन्योलता र आक्रोश सिर्जना भएको गुनासो गरे ।
‘मुलुकी अपराध संहितालगायतका संहिता कार्यान्वयनको सन्दर्भमा देखिएको कतिपय कठिनाइहरूलाई समाधान गर्ने उदेश्यले प्रस्ताव गरिएका विषयहरूलाई लिएर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुमानको आधारमा विभिन्न ब्याख्या गरिनाले आम मानिसको बुझाईमा अन्यौलता र आक्रोश सिर्जना भएको छ,’ उनले भने ।
कानूनमन्त्री चौरसियाले सामाजिक व्यवस्था नै खलल् गर्ने गरी कानून निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन नसक्ने प्रष्टिकरण दिए । ‘सामाजिक व्यवस्था नै खलल गर्ने गरी कानून निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन सक्दैन,’ उनले भने ।
कानूनमन्त्री चौरसियाले मन्त्रिपरिषद्को विधेयक समितिमा विधेयकको मस्यौदा विचाराधीन रहेकै अवस्थामा केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा समाचार प्रकाशन भएको विषयमा सांसदहरूले चासो व्यक्त गरी उठाएका प्रश्नमा मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए ।