विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले ठूला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको बताए ।
उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको टिप्पणी गरे ।कोइरालाले लोकतन्त्रको रक्षाका लागि भएपनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उल्लेख गरे ।
उनले मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै मिलिजुली सरकार बनाउनै पर्ने बाध्यता रहेपनि पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न नहुनेमा जोड दिए ।