काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरूले सरकारसँग भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ फिर्ता लिन माग गरेका छन् ।
मधेश लाइब्रेरी एन्ड रिसर्च सेन्टरले शनिबार आलोकनगरमा मधेश संवादको २३ औँ शृङ्खला अन्तगर्त ‘भूमि विधेयकको अन्तर्य’ विषयक अन्तरक्रियामा जसपाका महासचिव रामकुमार शर्मा र राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले विधेयक फिर्ता लिन माग गरेका हुन् ।
अन्तरक्रियामा महासचिव शर्माले जारी गर्नुअघि विधेयकको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताए । उनले भूमिसम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको दाबी गर्दै खारेज नै गर्नुपर्नेमा जोड दिए ।
नेता झाले भूमिसम्बन्धी विधेयक तराई–मधेश, नेपाल र विश्वको हितमा नरहेको जिकिर गरे । सुकुम्बासी र भूमिहीनको नाममा जग्गा वितरण गर्ने भनिए पनि भूमाफियाको डिजाइनमा विधेयक ल्याइएको उनको दाबी थियो । मधेशी समुदायलाई मधेशकै भूमिमा अल्पसङ्ख्यक बनाउने षड्यन्त्रअनुसार विधेयक ल्याइएको झाले बताए ।