काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका छन् । उनी सशर्त पदबाट राजीनामा दिन तयार भएका हुन् ।
सभापति शेरबहादुर देउवासँग शनिबार बूढानीलकण्ठमा सम्पन्न छलफलका क्रममा मुख्यमन्त्री लामा साउन १४ गते नियुक्त गरेका मन्त्रीहरूलाई निरन्तरता दिने शर्तमा राजीनामा दिन तयार भएका हुन् ।
मुख्यमन्त्री लामाले प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका थिए ।
तर, सत्ता साझेदार नेकपा एमालेले नवनियुक्त मन्त्रीहरूको शपथ रोकेको थियो । बूढानीलकण्ठमा शनिबार भएको छलफलमा सहभागी प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले नयाँ गठन हुने सरकारमा लम्साल, श्रेष्ठ र गुरुङलाई शपथ खुवाउने शर्तमा मुख्यमन्त्री लामाले आइतबार राजीनामा दिने सहमति जुटेको जानकारी दिए ।