काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई मार्ग प्रशस्त गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन गरेका छन् । सभापति देउवाले बिहीबार मुख्यमन्त्री लामालाई काठमाडौँ बोलाएर मार्ग प्रशस्त गर्न निर्देशन गरेका थिए।
सरकारबारे छलफलका लागि सभापति देउवाले बोलाएपछि बिहीबार नै काठमाडौँ पुगेका मुख्यमन्त्री लामालाई पदबाट राजीनामा दिन निर्देशन गरेको एक सांसदले बताए ।
प्रदेशमा देखिएको समस्या समाधानका लागि मुख्यमन्त्री लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन गरेको उनले बताए । सभापति देउवाले पार्टी भित्रको कुरालाई धेरै नलम्ब्याउन निर्देशन गरेको उनको भनाइ छ । उनका अनुसार छलफलका क्रममा मुख्यमन्त्री लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जान सभापति देउवाको सुझाव रहेको थियो ।
सोही अनुसार बिहीबार नै मुख्यमन्त्री लामाले आफू निकट सांसदहरूसँग काठमाडौँमा छलफल गरेका उनको भनाई छ । छलफलमा सरकारको निरन्तरताको विकल्पमा अघि बढ्न शीर्ष नेतृत्वसँगको संवाद चलाउने निष्कर्ष लिएको उनले बताए ।