काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस बागमती प्रदेशमा संसदीय दलमा सहमति कार्यान्वयन नहुँदा अहिलेको अवस्था आएको बताएका छन् ।
नेपाली कांग्रेस रामेछाप गुन्सी १ ले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सहमति कार्यान्वयन नहुँदा बागमती प्रदेशको विषय बाहिर आएको उनले बताए ।उनले समावेशी संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको, कुनै पदमा पुगेपछि सोही अनुसारको आचरण सिक्नुपर्ने भन्दै बागमती प्रदेशको निर्णय कुनै जात विशेषलाई हेरेर नभएको पनि प्रस्ट पारे ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री सिंहले पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्नेमा पनि जोड दिए । २०५६ सालदेखि नै पार्टीलाई विधिसम्मत र संस्थागत गरेर जानुपर्छ भनेर आफूले भन्दै आएको स्मरण गराउँदै उनले अहिलेको चुनौती सामना गर्नका लागि कांग्रेसलाई व्यवस्थित गर्नुपर्ने बताए ।
उनले प्रधानमन्त्री र पार्टी सभापति बाहेक सबै भूमिकामा काम गरिसकेको भन्दै आफ्नो बाँकी जीवन पार्टीलाई बलियो बनाउनका लागि समर्पण गर्ने पनि बताए ।