काठमाडौँ । मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश संसदीय दल नेताको हैसियत गुमाएपछि सत्तासीन कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुने भएको छ। प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ।
प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा हेटौंडामा बसेको कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री ऋषिराम घिमिरे र जीवन डंगोललाई सदस्यमा चयन गरेको हो। समितिले बुधबार नै निर्वाचन गर्ने गरी तयारी गरेको छ। यसअघि प्रदेशका मुख्यमन्त्रीसमेत रहेका लामाले संसदीय दलको नेताको हैसियत गुमाएपछि नयाँ नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो।
गत साउन ९ गते प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। त्यसकै प्रक्रिया स्वरूप मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको थियो। यस्तै विपक्षमा २२ मत परेसँगै लामाले संसदीय दलको नेताको हैसियत गुमाएका हुन्।
नयाँ संसदीय दलको नेताका लागि कांग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँलाई अघि सारिएको छ।