बुटवल । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन् ।
संघले खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।
रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ (दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९-११, पोखरा, कास्कीद्वारा संशोधितको धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूवाट पदमुक्त गर्दै, एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ ।
संघको पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा स्पष्टीकरण सोधिएकोमा खरेलले गैरजिम्मेवार र अराजक जवाफ पठाएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको र स्वेच्छाचारी तथा मनोमानी गतिविधि गरेको आरोप लगाइएको छ ।