काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी केन्द्रीय समितिको बैठकमा आएर आफूमाथि लागेका आरोपबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।
कास्कीको लिचीबारी जग्गा हत्याउन खोज्ने बिचौलिया समूहसँग जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाइरहेकी पत्नी रञ्जितालाई रेशमले बैठकमा सहभागी भएर जवाफ दिन भनेका हुन् ।
एक भिडियो सन्देश जारी गर्दै रेशमले पत्नी रञ्जितालाई भनेका छन्, ‘तपाईं भाग्न पाउनु हुँदैन, तपाईंमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्छ ।’
रञ्जिताले ‘मैले बोलाएको बैठक होइन, वैधानिक होइन’ भनेको अनलाइनमार्फत् थाहा पाएको बताउँदै रेशमले भनेका छन्, ‘यसो भनेर अध्यक्ष जी पन्छिन पाउनु हुन्न । ओहो, साथीहरुले बैठक बोलाउनु भएछ, के कारणले बैठक बोलाउनु भएछ, उहाँले सोधीखोजी गर्नुपर्छ । उहाँ अध्यक्ष भइसके पछाडि हरेक सदस्य उहाँको परिवार हो । उहाँसँग प्रतिशोधको भावना राख्नु गलत कुरा हो ।’ रेशमले अहिले उत्पन्न परिस्थितिको जिम्मेवार रञ्जिता नै भएको पनि बताएका छन् ।