काठमाडौं । ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । महासङ्घका प्रतिनिधिहरूले अध्यक्ष निवास खुमलटारमा भेट गरी ज्येष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेको हो ।
महासङ्घका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका ज्येष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने लगायतका मागहरू राखेका छन् ।
खासगरी दुई हजार पाँच सय बढी ज्येष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित गरेको भन्दै समस्या समाधान गर्न नेतृत्व लिइदिन महासङ्घले अनुरोध गरेको छ ।
महासङ्घका मागप्रति गम्भीर चासो व्यक्त गर्दै अध्यक्ष दाहालले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले भने, ‘तपाईंहरूले उठाएका मागहरू अत्यन्तै न्यायसङ्गत छन् । म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु । माओवादी केन्द्रले सकारात्मक पहल गर्नेछ ।