काठमाडौं । एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नफर्कन आग्रह गर्ने निर्णय गरेको छ। केन्द्रीय कमिटीको मंगलबार अबेर राति सम्पन्न बैठकले पदीय गरिमा अनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका थिए। ओलीले भने, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन, मिल्दैन।’
पार्टीको विधानको धारा ८ र ९ अनुसार नै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने ओलीले बताए। अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नै त्रुटिपूर्ण रहेको बताए। उनले पार्टीको निर्णयबिना भण्डारीको सदस्यता नवीकरण हुन नसक्ने बताएका थिए।