काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी विधानका विषयमा छलफलका लागि एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
आजको बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिनेछ । बैठकको सुरुवातमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक, सरकारको एकवर्ष र पार्टीको सचिवालय र पोलिटब्यूरो बैठकका निर्णयका सन्दर्भमा मन्तव्य राख्नेछन् ।
यसैगरी महासचिव शंकर पोखरेलले सांगठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधान छलफलमा प्रवेश गर्ने छ । पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्यूरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन् ।
प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ ।बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।