काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको पार्टी सदस्यता आफैंले नवीकरण गरिदिएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा भएको वार्तापछि एमाले कार्यालय परिसरमा पत्रकारहरूसँग बोल्दै उनले नवीकरणको निर्णय गर्ने मान्छे आफैं भएकाले सदस्यता पेन्डिङमा छ भन्ने कुरा बेठीक भएको बताएका हुन् ।
यसअघि महासचिव शंकर पोखरेलले नेपाल प्रेससँगकको अन्तर्वार्तामा विद्या भण्डारीको सदस्यता नवीकरण भइसकेको भन्ने कुरा सम्झिँदै उनले सदस्यता नवीकरणको विवाद नरहेको बताएका हुन् ।
पूर्वराष्ट्रपतिले अध्यक्षमा दाबी गरिरहेका बेला अब सदस्यता नवीकरणका लागि संघर्ष गर्ने कुरा हावादारी भएको उनले बताए ।
उनले पार्टीको पोलिटब्युरो बैठकमा पनि अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिको सदस्यता पेन्डिङमा छ भनेर नबोलेको बताएका छन् । नवीकरण गरिसकेको सदस्यता पेन्डिङमा छ भनेर कसैले नबोलेको पनि उनले बताए । उनले भेटघाट पनि पूर्वराष्ट्रपतिलाई राजनीतितमा दिइने स्थानबारे नै कुराकानीका लागि भएको बताए ।