काठमाडौं । नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकार बनाएको १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर आफ्नो चहानाविपरीत गठबन्धन बनाएको भन्दै असन्तुष्ट रहेको भारतले बल्ल ओलीलाई स्वागत गर्ने तयारी गरेको हो ।
ओलीको भारतविरोधी छविका कारण भ्रमणका लागि लामो समय कुर्नुपरेको हो । साधारणतया नेपालका प्रधानमन्त्री नियुक्त भइसकेपछि पहिलो भ्रणम छिमेकी भारतबाटै गर्ने चलन थियो । तर कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर चुच्चे नक्सा जारी गरेयता भारतीय पक्ष ओलीसँग रुस्ट छ । अर्कातिर कांग्रेससँग मिलेर एमालेले आफ्नो चहानाविपरीतको सरकार बनाएका कारण रुस्ट रहेको भारतले छिमेकी प्रधानमन्त्रीलाई बोलाउन १४ महिना लगाएको हो ।
प्रधानमन्त्रीको कार्यालय स्रोतका अनुसार भारतीय समकक्षी मोदीको निमन्त्रणमा ओली नेपालबाट आगामी भदौ भदौ गते ९१६ सेप्टेम्बर० मा नयाँदिल्ली गएर असोज १ गते (१७ सेप्टेम्बर) मा फिर्ता हुनेछन् ।
सम्भवतस् यो नेपाली प्रधानमन्त्रीले गर्ने हालसम्मकै छोटो भारत भ्रमण हुनेछ । भ्रमणका लागि परराष्ट्रमन्त्रालयले तयारी थालिसकेको छ। मन्त्रालयले सम्भावित एजेन्डाहरू तय गर्नका लागि आन्तरिक गृहकार्य थालेको छ ।
परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा प्रधानमन्त्री ओलीको भ्रमण तालिका आइनसकेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सञ्चारकर्मीहरूसँग मितिबारे पुष्टि भइनसकेको बताए । तर उनले तयारी भइरहेको भने जानकारी दिए । परराष्ट्रले केही दिनभित्रै भ्रमणको औपचारिक मिति घोषणा हुने जनाएको छ।
यसअघि नेपाल र भारतका गृहसचिवस्तरीय बैठक मंगलबार दिल्लीमा हुँदै छ । यो बैठक पनि ९ वर्षपछि हुन लागेको हो । यो बैठकका लागि गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको नेपाली टोली सोमबार दिल्ली जाँदैछ ।
गृहसचिव नेतृत्वको संयन्त्रले सीमा वारपार अपराध, मानव तस्करी, लागूऔषध कारोबार, तस्करी, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेशलगायत नियन्त्रण गर्न काम गर्छ । हरेक वर्ष हुने भनिएको सचिवस्तरीय बैठक २०१६ मा दिल्लीमा भएपछि बसेको छैन ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले सीमा सुरक्षा, सूचना आदानप्रदान, प्राकृतिक प्रकोपका साझा समस्यालगायतबारे यो बैठकमा कुरा हुने बताएका छन् ।