सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले किमाथाङ्का नाकालाई देशकै एक महत्त्वपूर्ण नाका भएको बताएका छन् ।
शनिबार सङ्खुवासभाको चैनपुरमा आयोजित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन समारोहमा बोल्दै उनले यो नाका १२ महिना सञ्चालन गर्न सकिने भएकाले सरकारले विशेष प्राथमिकताका साथ अगाडि बढाएको बताएका हुन् ।
मन्त्री खड्काले किमाथाङ्का नाकामा चीन सरकारको पनि चासो रहेको उल्लेख गर्दै यस नाकाको पूर्वाधार निर्माणमा चिनियाँ सहयोग प्राप्त हुने जानकारी दिए।
उनले सङ्खुवासभामा रहेका ठुला जलविद्युत् आयोजनामा भारत सरकारको लगानी रहेको उल्लेख गर्दै दुवै छिमेकी मुलुकसँग समन्वय गर्दै विकासका काम अघि बढाउनु आवश्यक रहेको बताए । नव उद्घाटन गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयमार्फत जलस्रोतको दीगो उपयोग गरी कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएको मन्त्री खड्काले जानकारी दिए । प्राविधिक, व्यवस्थापकीय र सामाजिक पक्ष समेटिएको उक्त आयोजनाले चार जिल्लामा सेवा पुर्याउने छ ।