काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई ४ वर्ष लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता अभियानलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘आजभन्दा ४ वर्ष पहिलेदेखि यात्रा गरेँ । एकीकृत समाजवादीसम्म आउन मलाइ ४ वर्ष लाग्यो । ४ वर्षपछि मैले भनेजसरी हामी एकीकृत हुँदैछौं,’ गौतमले भने, ‘म ७ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको झन्डा समातेको हुँ । त्यो गणना गर्दा ७० वर्ष भएछ । अहिले ७७ वर्षको छु ।’
उनले आफू कम्युनिष्ट आन्दोलनमा लाग्ने क्रममा शैक्षिक योग्यता पनि अघि बढाउन नसकेको सम्बोधनको क्रममा बताए । पछिल्लो पटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता हुँदा आफू अत्यन्त खुसी भएको बताउँदै त्यो खुसी टिक्न नसकेकोमा चिन्ता व्यक्त गरे ।