काठमाडौं । प्रमुख सत्तारुढ नेकपा (एमाले) ले अबदेखि संगठित सदस्यता वितरणका क्रममा परीक्षा लिने भएको छ । एमाले संगठन विभागको मंगलबार च्यासलमा बैठकले यस्तो प्रस्ताव पारित गरेको हो । संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार महासचिव शंकर पोखरेल र संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको उपस्थितिमा बसेको बैठकले यो निर्णय लिएको हो ।
‘पार्टी सदस्यहरूमा एमालेबारे आधारभूत जानकारी परीक्षण गर्नका लागि पार्टी सदस्य वितरणपूर्व अनिवार्य परीक्षा गर्ने प्रस्ताव पारित गरिएको छ’, उनले भने, ‘त्यसैगरी देशभरका मतदाताको ६ प्रतिशत पार्टी सदस्य संख्या पुर्याउने प्रस्ताव पनि बैठकले पारित गरेको छ।’ ढुंगेलका अनुसार एमालेको संगठित सदस्यता लिन इच्छुकहरूलाई अनलाइन फर्म व्यवस्था गरेर परीक्षा लिइने छ ।
एमालेले २०८१ मै नयाँ सदस्यता वितरणमा कडाइ गर्ने योजना ल्याएको थियो। आफ्नै सदस्यबाट २०७९ को निर्वाचनमा सहयोग नपाएपछी एमालेले सदस्यता वितरणमै कडाइ गर्ने प्रस्ताव त्यही बेला एमालेले गरेको थियो । त्यसबेला एमालेले थोरै भए पनि पार्टीबारे जानकारी जानकारी भएकालाई मात्रै सदस्यता वितरण गर्ने तयारी गरेको थियो ।


