काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना ऊर्जा तथा जलस्रोत क्षेत्रका विज्ञलाई पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ। आइतबार नेपाल सरकारका पूर्व सचिव ई. देवेन्द्र कार्की, ई.सुशील चन्द्र तिवारी र ई.मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सदस्यमा मनोनयन गरिएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
विभाग प्रमुख इ.श्रीराम न्यौपानेले ऊर्जा र जलस्रोत क्षेत्रको दीर्घकालीन समृद्धिको आधार तयार गर्नका लागि आवश्यक नीतिगत संरचनाको खाँचो रहेको बताए । नेपालको समृद्धिको प्रमुख आधार ऊर्जा र जलस्रोत भएको बताउँदैत्यसको अधिकतम उपयोगका लागि अनुभव र विज्ञता भएका व्यक्तिहरूको ज्ञानको अधिकतम सदुपयोग गर्न जरुरी भएको बताए ।
नियुक्त भएका तीनैजना विज्ञ सदस्यहरू विगतमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहिसकेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न क्षेत्रका विज्ञ, पूर्व सचिव, पूर्व प्रशासक, पूर्व सुरक्षा अधिकृतहरु एवं राष्ट्रिय, सामाजिक जीवनका ब्यक्तित्वहरुलाई विज्ञ सल्लाहकारको रुपमा मनोनय गर्ने गरेको छ ।