झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धन २०८४ को चुनावसम्म जारी रहने बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकार नढल्ने दाबी गर्दै आफू अझै एक वर्ष प्रधानमन्त्री हुने जिकिर गरे ।
‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरु कराऊन् । सरकारको एक वर्ष बित्यो । अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु । त्यसपछि हाम्रो सहमतिबमोजिम नेपाली कांग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘चुनावसम्म यो यात्रा जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु ।’
झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई आज जग्गाधनी पुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले मुलुकमा स्थिरता कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए ।
उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै विधेयक पारित गरिने जानकारी दिए । एमाले अध्यक्ष ओलीले देश विकासको गतिमा अग्रसर भएकोले निराशा र कुनै हल्लाको पछि लाग्नु नपर्ने बताउँदै शिक्षा र स्वास्थ्य आदिका क्षेत्रमा ठूलो परिवर्तन भएको जनताले अनुभव गरेको र अझै ठूलो परिवर्तनका लागि सरकारले काम गरिरहेको स्पष्ट गरे।
भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाले गरेको कार्यक्रममा सो पालिकाका २०० जनालाई जग्गाधनी पुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गरे ।