काठमाडौँ । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बजेट माथि छानबिनका लागि गठन भएको कार्यदलको संयोजकबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
शनिबार बसेको मधेस प्रदेशसभा बैठकमा कार्यदलका विषयमा लिएर प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुख मण्डलले कार्यदलको संयोजकबाट राजीनामा दिएको बताएका हुन् ।
सभामुख मण्डलको संयोजकत्वमा गठन भएको कार्यदलमा मन्त्रीको नाम राखेपछि प्रतिपक्षी दलका सांसदहरूले प्रदेश सभामा अवरोध गरेका थिए । अवरोधपछि सभामुख मण्डलले कार्यदलले विभिन्न काम गर्नुपर्ने तर आफूसँग समय नरहेकाले संयोजक पदमा रहन नसक्ने बताए ।
प्रतिपक्षीको अवरोधका बाबजुद सभामुख मण्डलले सभा अघि बढाउन खोजेपछि प्रतिपक्षी दलका सांसदहरूले रोष्टम घेराउ गरेका थिए । त्यसपछि उनले सभा स्थगित गरे । बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन केही दिन अघि प्रदेशसभाले ६ सदस्य कार्यदल गठन गरेको थियो ।