काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।
शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै एमालेले नै अरू सबैलाई एकताबद्ध गर्न जरुरी रहेको बताए ।
एमालेले एकताबद्ध गर्न नचाहँदा नै वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको बताए । एमालेले वामपन्थी एकता गर्न चाहने हो भने ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको बताए ।
पूर्व प्रधानमन्त्री खनालले भने, ‘अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले नै हो । त्यो समूहले नै अरू सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि हो ।त्यसो हुनाले एमालेले वामपन्थी एकता गरौँ, भनेर चाहने हुने हो भने अलि ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको छ ।
अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ, यदि विद्या भण्डारीले त्यो कुरा महसुस गरेर वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।’
पूर्व प्रधानमन्त्री खनालले भण्डारी वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीति र एमालेमा प्रवेश गरेको भए त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।