काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समयावधि थप गरेको छ । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकपछि मध्यरातमा विज्ञप्ति जारी गरेर कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको म्याद थप गरेको हो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आगामी असोज मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रीय कार्यालयमा विवरण पेश गर्ने समयावधि तोकिएको छ ।
उक्त अवधिभित्र पेश नभएका नवीकरणसम्बन्धी नामावली १५औँ महाधिवेशनका लागि अद्यावधिक (सूचिकृत) नगरिने भनिएको छ ।
यसअघि असार मसान्तसम्ममा क्रियाशील सदस्यता नवीकरण गरिने र साउन १ गतेबाट नयाँ क्रियाशील सदस्यता वितरण गरिने कांग्रेसले बताएको थियो ।
बैठकले बाँकी रहेको भ्रातृ संगठनहरूको महाधिवेशनको तयारी र व्यवस्थापनमा सहजीकरणका लागि सम्बन्धित संगठनको मौजुदा तदर्थ समितिका अध्यक्षसहित महाधिवेशन व्यवस्थापन समिति बनाउने उल्लेख गरेको छ ।
नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ, नेपाल थारू संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले तोकिएको मितिभित्र महाधिवेशन गर्न सकेका छैनन् ।
२०८१ साल चैत्र मसान्तभित्र महाधिवेशन गर्नैपर्ने र गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने भनिए पनि बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका भ्रातृ सङ्गठनहरूको हकमा तोकिएको मितिसम्म समयावधि थप गरिएको छ ।