काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको बताए ।
प्रधानमन्त्री ओलीले उक्त सम्मेलनपूर्व यही असार १४ गते प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणका कार्यसूचीबारे जानकारी गराएका थिए । सम्मेलनका लागि प्रधानमन्त्री ओली यही असार १४ गते त्यसतर्फ प्रस्थान गरी असार २० गते स्वदेश फर्किएका थिए ।
सम्मेलनमा प्रधानमन्त्री ओलीले अतिकमविकसित मुलुकका तर्फबाट अगुवाइ गर्दै सम्बोधनका क्रममा यी मुलुकको न्यायपूर्ण एवं आर्थिक सामाजिक विकासका पक्षमा वकालत गरेको जानकारी गराए ।
सेभिया प्रतिबद्धताको कार्यान्वयनबाट ती मुलुकले आफ्नो स्तरोन्नतिका लागि विश्वस्तरको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नती हुने अवगत उनले गराए ।