काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले २०८३ को दशैं आसपास १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
आइतबार केन्द्रीय कार्यसमितिको बैठकमा सिटौलाले स्थानीय तह र संघीय चुनावका मुखमा महाधिवेशन गर्न नहुने भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।
‘भदौको मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गर्ने समय दियौं । त्यतिखेरसम्म पनि सदस्यता नवीकरण नभए महाधिवेशनमा भाग लिन नदिऊँ,’ सिटौलाले भने, ‘८३ सालको दशैंको सेरोफेरोमा महाधिवेशन गरौं । पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्छ । नवौंदेखि १३ औंसम्म यस्तो भएको छ । २०८४ वैशाखमा निर्वाचन हुने भएपछि । केही महिना अगाडि महाधिवेशन गर्नैपर्छ ।’
अनुशासनको कारबाहीको विषयमा आवश्यक छलफल गरी टुंगोमा पुग्नुपर्ने उनले बताए । पाटीले नै तालिका बनाएर नदिएसम्म भ्रातृ संस्थाले अधिवेशन नगर्ने उनको भनाइ छ ।
‘पाटी नै नलागिकन भ्रातृ संस्थाको अधिवेशन हुँदैन । सेड्युल नै दिएर महाधिवेशन गर्नुपर्छ,’ उनले भने, ‘पदाधिकारीले एउटा प्रस्ताव छिटो ल्याउनुपर्छ । दशैं छिटो भएकोले मंसिरमा भ्रातृ संस्थाको महाधिवेशन गरौं ।’