काठमाडौँ । नेकपा (एमाले)का सचिव रघुवीर महासेठले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै अन्तरविरोध नरहेको बताएका छन् । पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने विषयले न त पार्टीमा न ओलीसँग कुनै प्रकारको अन्तरविरोध नभएको महासेठले बताए ।
जनकपुरधाममा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै महासेठले भण्डारी एमालेको सक्रिय राजनीतिमा आए पनि अध्यक्षकै प्रस्तावमा आउने जिकिर गरे । महासेठ एमालेमा ओलीनिकट नेता हुन् । उनले भने, ‘ओली र भण्डारीबी अन्तरविरोध बढिरहेको छ र कार्यकर्ताहरू कित्ताकाट गरिरहेको चर्चा चलेको छ, तर त्यसमा कुनै पनि सत्यता छैन ।’
महासेठले भण्डारी अध्यक्षकै सहमति र प्रस्तावमा सक्रिय राजनीतिमा आउने पनि दाबी गरे । ‘यदि विद्या भण्डारी सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष ओलीकै सहमति र प्रस्तावमा आउनु हुन्छ’, उनले भने ।
संविधान र एमालेको विधानले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन बन्देज नगरेकाले भण्डारी पनि राजनीतिमा फर्किन सक्ने महासेठको भनाइ छ । पार्टीको सचिवालयमा पनि यसबारे छलफल भएको बताउँदै महासेठले भने, ‘यदि उहाँ सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भने हामीले किन रोक्ने रु किनकी संविधान र विधानले त रोक्ने अधिकार दिएकै छैन ।’
राष्ट्रपति बनेपछि झन्डै १० वर्ष औपचारिक रूपमा राजनीतिबाट अलग रहेकी भण्डारीले असार १४ गते मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममार्फत आफू पार्टीको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।
महासेठले राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माणको अवरोधक आफूहरू नभएको दाबी गरे । विश्वविद्यालयको प्रशासनिक भवन निर्माणमा आफूहरूले अवरोध गरेको नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले लगाएको आरोपमा सत्यता नरहेको उनले बताए । उनले जनतामा भ्रम फैलाएर खुरापाती नगर्न निधिलाई सुझाव दिए ।
धनुषा क्षेत्र नम्बर ४ का सांसद समेत रहेका नेता महासेठले, ‘उहाँ समानुपातिक सांसद ९निधी०लाई चुनाव नै लड्नु छ भने जनतालाई भ्रमित गर्नु हुँदैन । अहिलेदेखि नै खुरापाती गर्नु हुँदैन ।’