काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् । कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ–५ स्थित चुवाखोलामा बनाइएको बेलीब्रिजको उद्घाटनका लागि प्रधानमन्त्री ओली हुम्ला जान लागेका हुन् ।
योसँगै देशका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने २६ वर्षको सपना पूरा हुने भएको छ ।
यो सडक सञ्चालनमा आएपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ ।
यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ भएर हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ । ४१० किलोमीटर यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ ।