काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा मागेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद पदम गिरीले निजामति सेवा विधेयकमाथि भएको बदमासीको जिम्मा लिँदै समिति सभापति रामहरि खतिवडाले राजीनामा गर्नुपर्ने माग गरेका हुन् ।
निजामती सेवा विधेयकमा रहेकोे ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलबारे समितिको बैठकमा अहिले छलफल चलिरहेको छ । छलफलमा सहभागी हुँदै पूर्वकानुनमन्त्री गिरीले प्रतिवेदनमा अन्तिम हस्ताक्षरकर्ता भएकाले पनि सभापतिले जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताए । उनले समितिका सचिव सुरजकुमार दुराको राजीनामा पनि मागे ।