काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्त्वहरूलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन्।
जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरि नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षारोपण कार्यक्रमको शुभारम्भका अवसरमा उनले आफूहरूको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–२०८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिने बताए ।
उनले भने, ‘हामी अर्जुन दृष्टिका साथ मिसन २०८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन । हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन । केही स्वार्थीहरूलाई महाधिवेशन लागेको मात्रै हो । त्यस्ताका पछाडि लाग्नु हुँदैन ।’
‘७० वर्षे उमेर हद’ र ‘दुई कार्यकाल’ जस्ता प्रावधान ओलीलाई तगारो बनिरहेका बेला उनको विकल्पको आवाज उठाउनेमाथि ओली कड्किएका हुन् । निरन्तर दुई पटक एमाले अध्यक्ष बनेका केपी शर्मा ओलीको उमेर ७० वर्ष कटिसकेको छ । एमाले विधानमा रहेको ७० वर्षे उमेर हदको प्रावधान अहिले निलम्बित छ । विधान महाधिवेशनले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था कायमै राख्ला ? भन्ने प्रश्न उब्जिरहेका बेला पार्टीभित्रबाटै त्यस्ता प्रश्न गर्नेलाई ओलीले ‘स्वार्थीहरू’ भनेका हुन् ।
अहिले दोस्रो कार्यकाल एमाले चलाइरहेका ओली विधानतः अध्यक्ष बन्न पाउँदैनन् । तर ओली यसो हुन दिने पक्षमा देखिँदैनन् । अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन न्वारनदेखिको बल लगाइरहेकी छन् । भण्डारी राजनीतिमा फर्किने भनेको ओलीपछि एमालेको अध्यक्ष बन्ने नै हो ।
ओलीसँग हालै भएको भेटमा पनि उनले आफ्नो चाहना लुकाइनन् । स्रोतका अनुसार, उनले ओलीलाई आफू सक्रिय राजनीतिमा आउन चाहेको कुरा खुलेर बोलिन् । भण्डारीले भनेको सक्रिय राजनीति एमालेको अध्यक्ष पद नै हो भन्ने कुरा ओलीले नबुझ्ने कुरै भएन ।
एमालेभित्रको एउटा गुटले भण्डारीलाई आगामी महाधिवेशनबाटै पार्टी अध्यक्षमा स्थापित गर्न बल गरिरहेको बेला ओलले हिसाबकिताबकै चेतावनी दिएका हुन् ।